ताप्लेजुङ। दुई सातादेखि अवरुद्ध सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको हो।
भारी हिमपात र प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन।
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ। निगमको जहाजले काठमाडौंबाट १४ यात्रु लिएर ताप्लेजुङ आइपुगेको छ भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौं पुगेको छ ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो। निगमले यस विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ ।