काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका रुपमा राजकुमार क्षेत्री ३६ दिनपछि काममा फर्किएका छन्। सर्वोच्चले क्षेत्रीलाई सरकारले दिने अनिवार्य अवकाश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै क्षेत्री सोमबारबाट काममा फर्किएका हुन्।
क्षेत्रीले उमेरहदका कारण पुस २३ गते अनिवार्य अवकाश प्राप्त गरेका थिए। तर प्राधिकरणको नियमावलीमा महानिर्देशकको कार्यकाल ४ वर्षका लागि हुने भन्दै क्षेत्रीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले पुस २३ गते नै अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्किन अनुमति दिएको थियो।सर्वोच्चले आदेश दिएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्र नदिएपछि कार्यालय नगएका क्षेत्रीलाई आइतबार पुनः सर्वोच्चले अनिवार्य अवकाश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै क्षेत्री सोमबार कार्यालय गएका छन्।
यस अघि सरकारले महानिर्देशकका रुपमा ११ औं तहका प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ। अधिकारीले कार्यभारसमेत सम्हालिसकेका छन्।
यति बेला प्राधिकरणमा दुई जना महानिर्देशक भएका छन्। अब प्राधिकरण कसरी अघि बढ्छ भन्ने सबैको चासोको विषय बनेको छ।