धनगढी। खप्तड–बडीमालिका हेलिटुरको सुभारम्भ भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तड र बडीमालिकामा हेलिटुर अभियान शुरु गरिएको हो।
विश्व महामारीको रुपमा फैलिएको कोरना भाइरसले धरापमा रहेको पर्यटकीय क्षेत्र चलाएमान बनाउनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा ’टूर प्याकेज’ सार्वजनिक भएको हो।
हिउँदको समयमा हिउँ परेर खप्तड र बडीमालिका रमणीय भएकाले भ्रमण गर्न चाहनेका लागि यो कार्यक्रम ल्याइएको छ। यस कार्यक्रम अन्तर्गत खप्तड र बढीमालिका लगायतका क्षेत्रमा हेलिकोप्टर मार्फत घुम्न पाइने छ ।
१० दिनसम्म सञ्चालन हुने हेलिटुरमा कम्तीमा ३ सय ५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका अवलोकन गराउने लक्ष्य नाटा सुदूरपश्चिमको छ । प्याकेजमा खप्तड घुम्न चाहनेलाई दिपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साफेबगरबाट हेलिकप्टरले लैजाने र ल्याउने छ ।