काठमाडौं। पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ। यो वर्षको मेला सकिएको छ। बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिनाअघि मात्र सुरु भएको थियो।
तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ। यस क्षेत्रमा नगरपालिकाले ढुंगा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ।
नगरपालिकाले दुई वर्षदेखि आठ करोड ३५ लाख रुपैयाँ मेलाका लागि संरचना निर्माण खर्च गरेको छ। यसमध्ये सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको बताइएको छ। एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो।
माघ १ गते मेला सुरु भएपछि ढुंगा छाप्ने र रङ लगाउने काम सुरु गरियो। मेला सुरु भएपछि सुरु गरिएका काम अझै पूरा भएका छैनन्। पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ।