काठमाडौं। लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ। भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो।
राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको हो।
५ रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ। शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ। पार्कको सम्पूर्ण डिपिआर ३ करोड ९९ लाख रुपैयाँ रहेको छ भने, अहिलेसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताइएको छ।
भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर निधन भएको थियो। अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ। उनी लमजुङस्थित पुँवर थापा परिवारमा जन्मीएका हुन्।