काठमाडौं। भैरहवा विमानस्थल शुक्रबारदेखी दैनिक ६ घण्टा बन्द हुने भएको छ। निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएकोले सो फ्लाइट हुँदा भैरहवा विमानस्थल दैनिक ६ घण्टा बन्द हुने भएको हो।
उक्त विमानस्थल विहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएको छ। क्यालिब्रेसन सकिएलगत्तै नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइडबडी जहाजमार्फत सो विमानस्थलमा परीक्षण अवतरण गरिने बताइएको छ।
उडान संचालन तथा व्यवस्थापनका लागि विमानस्थलमा जडान भएका आईएलएस (इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ।छैन भन्ने जाँच्नका लागि उक्त उडान गर्न लागिएको हो।
विमानस्थलमा प्रयोग भएको उपकरण सबै एरो थाइले नै उपलब्ध र जडान गरेको बताइएको छ। विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना तयार भइसकेको जनाएको छ।
९८ प्रतिशत निर्माणको काम सकिसकेको यो विमानस्थल देशको एक मात्र इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) भएको विमानस्थल हो।