काठमाडौं। जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ। जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो।
उक्त धावनमार्ग विस्तारका गर्नकालागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ। छलफलमा उक्त विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको हो।
विमानस्थलको धावनमार्ग विस्तारका लागि सर्वेक्षण गर्न तत्काल प्राविधिक टोली खटाउने बताइएको छ। धावनमार्ग विस्तारका लागि प्राविधिक टोलीको सर्वेक्षणपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढ्ने भएको छ।
हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ। जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हुदै आएका छन्। विमानस्थलको धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्नसके ठुला जहाज सजिलै अवतरण गर्न सकिने आशा गरिएको छ।