खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण गरिएको छ। नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरेको नगरपालिकाले जनाएको छ। सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् ।
४ करोड ३७ लाखमा तयार पारिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क उमा–लामा–अनशुबी जेभीले निर्माण गरेको हो।
सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । माथिल्लो तलाको अगाडिको भागमा बालबालिका खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड , स्वीङराईड लगायतका संरचना तयार पारिएको छ ।
सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले सोमबार न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरिसकेको छ ।