काठमाडौं। आज विभिन्न ६ दलले एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान गरेका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारले तयारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेका हुन्।
विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो।
कानुन विपरीतका गतिविधिहरू हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन गृहले सर्कुलर जारी गरेको छ।