काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडै शुरु गर्ने बताएका छन्। नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको र बसैको सहयोग भए काम चाँडै शुरु गर्ने बताएका हुन्।
उनले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरु गर्नेछौँ ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए। उनले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा वषौँ पहिलेदेखि चल्दै आएको हो, तर काम सुरु नभएकाले अब यो सरकारले चाँडै काम सुरु गर्नुपर्छ ।’