काठमाडौं। नारायणी नदीमा दोस्रो चरणको तटबन्ध निर्माण गर्नका लागि ठेक्का आह्वान गरिएको छ। नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरले बुधबार ठेक्काको सूचना जारी गरेको हो।
भरतपुर–१७ को गाजीपुरदेखि वडा नम्बर २६ को हिरापुरसम्म कंक्रिट ब्लक र माटो भर्ने कामसहितको ५ किलोमिटर सम्मका लागि ९९ करोड रुपैयाँ लागतको काम गर्नका लागि ठेक्का आह्वान गरिएको हो।
नारायणी नदीको भेल रोकथामका लागि ४ अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ। निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ। यो क्षेत्र भरतपुर–२६ र २७ मा पर्ने पाँच किलोमिटरको छ। यसको काम प्राविधिक मूल्यांकनको प्रक्रियामा छ। बाँकी ३ खण्डको पनि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ।
पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गर्ने व्यवस्था गरिए अनुसार यो दोस्रो खण्डको ठेक्का आह्वान भएको हो। तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिने छ।
अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षीय ठेक्कामार्फत् काम सम्पन्न हुने भरतपुर महानगरपालिकाले जनाएको छ।