काठमाडौं। होटल याक एण्ड यतीले सेवा बन्द गर्न सरकारले गरेको निर्देशन रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेको छ। होटल बन्द गर्न पर्यटन मन्त्रालयले गरेको निर्णय गैरकानुनी भएको भन्दै होटल व्यवसायीले अदालतमा रिट दायर गरेका हुन्।
होटल र क्यासिनो फरक फरक रहेको र निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराउन खोजिएको होटल सञ्चालकको आरोप छ।
होटलका कानुनी सल्लाहकार रमन कर्णले भने, ‘मन्त्रीस्तरीय निर्णयबाट होटल बन्द गर्ने अधिकार दिइएको छैन। होटलको नाममा गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको छ। त्यसैले त्यो निर्णय बदरको माग गरेका छौं।’ होटलले २०४८ सालमा क्यासिनो संचालनको अनुमति पाएको थियो। यो अनुमति पाएपनि होटल आफैंले क्यासिनो संचालन गरेको थिएन।
गील्ट इन्भेष्टमेन्ट प्रालिले होटल याक एण्ड यतीमा रोयल क्यासिनो चलाएको थियो। गील्टका संचालक सुरेन्द्रबहादुर सिंहले क्यासिनो संचालन गरेवापतको रोयल्टी सरकारलाई बुझाएनन्। रोयल्टी बुझाउन सरकारले पटक पटक गील्टका नाममा सूचना समेत जारी गरेको थियो। तर यो कम्पनीले रोयल्टी वापतको रकम नतिरि क्यासिनो संचालन गर्दै आएको थियो।