काठमाडौं। भारतीय निजी क्षेत्रका विमान कम्पनी इन्डिगो र भिस्ताराले काठमाडौं–दिल्ली उडान शुरु गरेका छन्। उडान अनुमति पाएसँगै दुवै कम्पनीले बुधबारदेखि काठमाडौं–दिल्ली उडान शुरु गरेका हुन्।
योसँगै काठमाडौंदेखि भारतको दैनिक हवाइ उडान संख्या थपिएको छ। भारतले काठमाडौंका लागि उडान संख्या थपेको हो । बुधबार दिल्ली–काठमाडौं–दिल्ली दुईतर्फी ४–४ वटा उडान भएका छन् ।
२ वर्षअघि कोरोना महामारी शुरु भएसँगै दुई देशबीचको उडान बन्द गरिएको थियो । पछि अत्यावश्यक सेवा मान्दै निश्चित संख्यामा मात्रै उडान गर्ने गरी दुई देशबीच ‘एयर बबल’ सम्झौता भएको थियो । जसअन्तर्गत दुई देशका राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्दै आएका थिए । पछिल्लो समय दुवै विमान कम्पनीले दैनिक १–१ वटा उडानको अनुमति पाएका हुन् । त्यसअघि सातामा ३–३ उडान गर्दै आएका थिए ।
अब सातामा भारतबाट २८ र नेपालबाट २८ वटा उडान हुन सक्ने बताइएको छ । इन्डिगो र भिस्ताराले उडानको नेपाल पक्षबाट पनि अनुमति पाएका छन् ।
नेपाल एयरलाइन्सले मुम्बई र बैंग्लोरका लागि मागेको अनुमति भारतको विदेश मन्त्रालयमा पुगेको छ । भारतबाट सातामा एयर इन्डियाले ७, इन्डिगोले १४ र भिस्ताराले ७ वटा उडान गर्ने अनुमति पाइसकेका छन् । इन्डिगोले सातामा ३ वटा उडान मुम्बईबाट गर्ने तयारी गरेको छ । उसले अन्य शहरबाट पनि काठमाडौं उडानको तयारी गरेपनि कार्यतालिका सार्वजनिक गरिसकेको छैन ।