काठमाडौं। अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटवार्ताले आज अपरान्ह ३ बजेका लागि बैठक बस्ने सहमति भएको हो ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राखेको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बुधबार भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ ।
सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग तत्काल एमसीसी टेबल नगर्न आग्रह गरेपछि हिजोको संसद बैठकमा एमसीसी पेश नभएको बताइएको छ ।