जनकपुर। जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान शुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने जानकारी दिएको हो।
पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि शुरु भएको छ । शुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको छ ।
जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनेटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् ।
यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाई उडान सेवा शुरु गर्ने लिखित सहमति गरेका थिए ।