जुम्ला। जुम्लाको तिला गाउँपालिका–२ ग्रामीण सडक निर्माण गरिएको छ। लिही र लर्मी गाउँ जोड्ने १० हजार ५० मिटर ग्रामीण बाटो निर्माण गरिएको हो।
बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थाछ। बाटो निर्माणपछि पशुचौपायादेखि स्थानीयवासीले उत्पादन गरेको स्याउ, सिमी र तरकारी बजारसम्म लैजान सहज भएको स्थानीय बताउँछन्।
कृषि उपजलाई बजारसम्म पुर्याउन समस्या भएकाले सो बाटो निर्माण गरिएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । बाटो निर्माण भएपछि लिही र लर्मीगाउँका नागरिकलाई आवतजावतमा सहज भएको हो । मानिसको मृत्यु हुँदा मलामी जान, विवाहमा जन्ती जान र अस्पतालसम्म बिरामीलाई स्टे«चरमा राखेर लैजान बाटोको समस्याले सकस भएको थियो । स्थानीयवासीको सो गुनासोपछि गैरसरकारी संस्था पेस नेपाल जुम्लाको सहकार्यमा बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले जानकारी दिए ।
गाउँमा उत्पादन भएका स्याउ, सिमी, आलु र फापरलगायत रैथाने बाली बाटोकै समस्याले किसानले बिक्री गर्न पाएका थिएनन् । भारी बोकेर हिँड्ने बाटो नहुँदा लर्मीगाउँका किसानले उत्पादन गरेको बाली उचित मूल्यमा विक्री नगरी थन्क्याउनुपर्ने बाध्यता थियो । अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानले स्थानीय उपज विक्री गर्न ल्याउन सहज भएको छ।