दाङ। दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम डेढ किलोमिटरमा सिमित बनेको छ। एक दशक अघिदेखि निर्माण शुरू भएको चक्रपथ निर्माणको डेढ किलोमिटरममा मात्रै सीमित बनेको हो।
अहिलेसम्म चक्रपथको एक किलोमिटर मात्रै सडक कालोपत्र भएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले बताए। चक्रपथलाई वैकल्पिक सडकका रूपमा लिइएको थियो । तर हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताए ।
तुलसीपुर उपमहानगरपालिका–७ राजापुरदेखि रक्षाचौर आँखा अस्पताल–तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखांकन गरिएको थियो। यो करिब २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडा बनाउने योजना रहेको भए पनि त्यो कामले तीव्रता पाउन सकेको छैन । इञ्जिनीयर योगीका अनुसार ती स्थानमा कच्ची ट्र्याक खोलिएको भए पनि पक्की भने हुन सकेको छैन ।
साविक नगरपालिकाका सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख विनियोजन गरेको थियो ।
साथै आर्थिक वर्ष २०७८–७९ मा प्रदेश सरकारमार्फत एक करोड ५० लाख बजेट व्यवस्था गरिएको थियो । साथै संघ, प्रदेश सरकारसँग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको नीति ल्याएको थियो । तर, स्थानीय सरकारले चक्रपथ निर्माणको काम अघि नबढ्नुमा प्रदेश सरकारलाई दोष दिएको छ ।