काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहीबार साँझको बैठक बिना निश्कर्ष सकिएपछि आज बिहान १० बजे अर्को बैठक बस्ने भएको हो।
सत्ता गठबन्धनको हिजोको बैठक बिना निश्कर्ष सकिएको थियो। बिहीबार बसेको बैठकले एमसीसी शुक्रबारको संसद बैठकमा पनि टेबल नगर्ने निर्णय गरेको छ। शुक्रबारको बैठकमा थप छलफल गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनमा कांग्रेस एमसीसी टेबल गर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिएको छ।
हिजोको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागि भएको बताइएको छ।