भैरहवा। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ। विमानस्थलको निर्माण कार्य सकिएसँगै आजदेखि १० दिनसम्म क्यालिब्रेसन फ्लाईट हुने छ।
यो विमानस्थल तीन महिनापछि नियमित सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । परीक्षण उडानका लागि बिहीवार नै थाइल्यान्डबाट एरो थाइको जहाज काठमाडौं आएर भैरहवा गएको छ । उक्त जहाजले शुक्रबारदेखि डेढ सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने भएको हो।
उक्त विमानस्थलबाट आगामी जेठ २ गतेबाट नियमित व्यावसायिक उडान गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
उक्त विमानस्थल निर्माण सम्पन्न भएपछि ७० वर्षदेखिको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना पूरा हुने भएको छ ।
यो विमानस्थल सन् २०१७ मै सम्पन्न गर्नुपर्ने भएपनि तोकिएको समयभन्दा ५ वर्ष ढिला भएको छ । विमानस्थल निर्माण एसियाली विकास बैंकको ऋण सहयोगमा शुरू भएको थियो ।
यो विमानस्थल बनाउँदा ७ अर्ब एडीबीको र बाँकी ४ अर्ब नेपाल नागरिक उड्डयन प्राधिकरणको गरी कुल ११ अर्ब रुपैयाँ खर्च भएको छ ।
विमानस्थल ३ वर्षभित्रै सक्ने गरी निर्माण शुरू भएको भएपनि निर्धारित समयमा जम्मा २७ प्रतिशत मात्रै काम भएको थियो । निर्धारित समयमा निर्माण पूरा नभएपछि पुनः समय थप गर्दै निर्माण गर्दै गर्दा करिब ८ वर्ष लागेको प्राधिकरणले जानकारी दिएको छ ।