काठमाडौं। अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज देशभर प्रदर्शन गरिँदै छ। एमसीसीको विरोधमा आज ८ दलीय मोर्चाले देशभर संयुक्त प्रदर्शन गर्ने भएको हो ।
बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनबारे जानकारी गराएका थिए। विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग समेत गरिएको छ।
आज काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको उनीहरुको भनाइ छ । अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदायसँग उनीहरुले अपिल समेत गरेका छन्।
आज प्रदर्शन गर्नेमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चा छन्।