काठमाडौं। श्रमिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो ।
मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, संचालन मोडालिटी लगायत पक्षबारे अध्ययन गरिरहेको छ ।
मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। श्रमिक स्वस्थ र सुरक्षित भए भने उत्पादन बढ्ने र श्रमिकको व्यावसायिक स्वास्थ्य र सुरक्षाले उद्योगको निरन्तरता सम्भव रहेको भन्दै मन्त्री श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न श्रमिक अस्पताल आवश्यक रहेको बताए ।