काठमाडौं। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा नेपालमाथि दबाब नदिन चीनले अमेरिकालाई आग्रह गरेको छ।
चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टि जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको हो । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ। यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले ‘दबाबपूर्ण कूटनीतिक’ विरोध गरेका हुन् ।
‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले आफ्नो समाचारमा वाङको भनाई उद्वृत गरेको छ ।
उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।
‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले भने ।