काठमाडौं। बागमती प्रदेश अर्थ तथा विकास समितिले भक्तपुरका ठूला आयोजनाको अनुगमन गरेको छ। समितिले भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक खण्डमा ठूला लगानीमा निर्माण भएका विभिन्न ठूला आयोजनाको शुक्रबार अनुगमन गरेको हो।
बागमती प्रदेश अर्थ तथा विकास समितिका सभापति नारायण सिलवाल र समितिका सदस्य शशीजङ्ग थापासहितको टोलीले बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाको स्थलगत निरीक्षण गरेका हुन्।
टोलीले कौशल्टारबाट बिरुवा सडकखण्डअन्तर्गत रु १० करोडको लागतमा निर्माण भइरहेको सिरुटार बिरुवा सडक खण्ड, रु पाँच करोडको लागतमा निर्माण भइरहेको भक्तपुरको सल्लाघारीबाट सिरुटार हुँदै ललितपुरको महालक्ष्मी नगरपालिका लुभु जोड्ने सडकको स्थलगत अनुगमन गरेको छ ।
त्यसैगरी पाँच करोडको लागतमा निर्माण भइरहेको काँठ चक्रपथ सडक, ६ करोडको लागतमा गुण्डु छेडोमा निर्माणाधीन यातायात कार्यालय भवन निर्माणस्थल र दधिकोटको अनन्तलिङ्गेश्वर डाँडामा दुई करोडको लागतमा निर्माण भइरहेको भ्यूटावरको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य थापाले बताए ।
प्रदेश सरकारले सञ्चालन गरेको आयोजनाको प्रगतिको अवस्था, योजनामा आएको अवरोध र समस्या तथा उपलब्धिका बारेमा समितिले जानकारी लिएको उनले बताए ।