काठमाडौं। अन्तर्राष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरिएको छ। वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको हो।
संघले विज्ञप्ति जारी गरी कोभिड महामारीको संक्रमणदर घटेको र जोखिम कम रहेको भन्दै कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको छ ।
विश्वभरि नै कोभिड संक्रमणदर घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघको दाबी छ । महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्योल र अनिश्चिततामा रुमल्लिएको छ ।
झन्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको संघले औँल्याएको छ ।