काठमाडौं। विकास आयोजना वातावरणमैत्री बताउन पत्रकारहरुले माग गरेका छन्। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वातावरण विनाश हुने गरी गरिने विकास कार्य रोक्न माग गरेको हो।
नेफेजले वातावरण विनाश गर्नेमाथि कारबाहीको माग समेत गरेको छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरूको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।’
पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनाश गरिएको, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैँडा मरेको लगायतका घटनाप्रति ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि रोक्न नेफेजले माग गरेको छ।
यी घटनाहरूले दुवै सडक आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्न चिन्ह खडा भएको भन्दै नेफेजले यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरूले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरूलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको उल्लेख गरेको छ।
तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न नेफेजले माग गरेको छ।