काठमाडौं। एमसीसीको विरोधमा आज संसद भवन घेराउसहित देशभर प्रदर्शन गरिने भएको छ। ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गर्ने भएको हो।
मोर्चाले आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको छ । यस्तै देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने मोर्चाले घोषणा गरेको छ ।
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा , सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी देशव्यापी विरोध प्रदर्शन कार्यक्रम घोषणा गरेका हुन् ।