बैतडी। डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। मौसम खराब र यात्रु नभएर बन्द रहेको बैतडीको हवाइ सेवा पुनः सञ्चालनमा आएको हो।
गत पुस १६ गते अन्तिम उडान धनगढी–बैतडी–धनगढी उडान भएपछि बन्द रहेको विमानस्थल डेढ महिनापछि सञ्चालनमा आएको छ।
समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन नसकेको र अहिले मौसम सुधार भएपछि सञ्चालनमा आएको बताए।
साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ। गएको डेढ महिनामा तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो। मौसम सफा हुँदै गएकोले अबदेखि साताको एक दिन शुक्रबार नियमित उडान हुने जनाइएको छ।
गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो। पाटन विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको हो। २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो।