भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुने बताएका छन्। विमानस्थल निरीक्षणका लागि भैरहवा पुगेका मन्त्री आलेले वैशाख १ देखि नै उडान शुरु हुने बताएका हुन्।
उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भए यहाँका नागरिकलाई सहज हुने बताए। मन्त्री आलेले भने, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौं। अन्तर्राष्ट्रिय उडान शुरु भए यहाँका नागरिकलाई सहज हुनेछ।”
भारतसँग सीधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणमा गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सीधा उडान अनुमतिको माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिएकाले सो समस्या चाँडै समाधान हुने बताए।
यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान शुरु भए काठमाडौंमा एरट्राफिकको समस्या समाधान हुने उनको भनाइ छ।
मन्त्री आलेले भने, “भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान शुरु भए हजारौं बौद्धमार्गीका साथै लाखौं पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।”