सिन्धुपाल्चोक। हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। हेलम्बु गाउँपालिका–१ मा बन्ने झोलुंगे पुलमा साहसिक खेल ‘बन्जी जम्प’ को संरचना निर्माण अन्तिम चरणमा पुगेको हो ।
पाङगाङ्मा र धवागाङ गाउँलाई जोड्ने गरी निर्माणाधीन ३७० मिटर लामो झोलुंगे पुलमा १७३ मिटर अग्लो बन्जी जम्प निर्माण गर्न लागिएको छ। दुवैतर्फको मुख्य आधार संरचनाको काम सकिएको छ र लट्ठा र तार टाँग्ने काम भइरहेको आयोजनाका सबइन्जिनियर शेरबहादुर राईले जानकारी दिए।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक पूर्वाधार निर्देशनालयले ५ करोड ३९ लाख रुपैयाँमा उक्त संरचना बनाउन १८ महिनाको समय दिएको थियो । २०७६ सालमा थलिए पनि मेलम्ची बाढी तथा कोरोना महामारीका कारण हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको छ।
बन्जीको एनएल कन्सल्टेन्सीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो । सरकारको ‘हन्ड्रेड डेस्टिनेसन्स’ मा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बन्जी जम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिले जनाएको छ।