रुकुम। सिस्ने गाउँपालिका ६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ ।
६ वर्षको लामो समयपछि पूर्णता पाएको मोटरेबल पुल ८० मिटर लामो रहेको छ। उक्त पुलको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले गरेका हुन् । पुल उद्घाटन गर्दै संघीयताको धर्म र मर्मअनुसार विकास निमार्णका काम भइरहेको सभामुख घर्तीले बताउनु भयो। उहाँका अनुसार जनताका समस्या स्थानीय, प्रदेश र संघीय सरकारले सम्वोधन गरिरहेको छ।
सडक पूर्वाधार विकास कार्यालय रुकुम पुर्व का प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीका अनुसार २०७३ असार मा सम्झौता भएको उक्त पुल निर्माणको काम २०७५ असार मा सम्पन्न गरिसक्नुपर्ने भएतापनि सम्झौता गरेको समयमा काम सम्पन्न नभएपछि २०७५ पुष मा पहिलो पटक साविक जिल्ला विकास समितिबाट म्याद थप भएको थियो, तर अवधि थप गरेपछि पनि काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ पुष मा म्याद थप भएको हो।
उहाँका अनुसार दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक २०७८ असार मा म्याद थप भएको र यही तेस्रो पटक थपिएको समयमा पुल निर्माणको कार्यले पूर्णता पाएको हो। पुल निर्माणको जिम्मा मृत संजीवनी निर्माण सेवा हेटौडाले लिएको थियो । उक्त कम्पनीले ८ करोड भन्दा माथिको लगानीमा पुल निर्माणको काम सम्पन्न गरेको हो । लामो समयको अन्तरालपछि पुल निर्माण हँदा सबै कुरामा सहज हुने बताउदै स्थानीयले खुसी व्यक्त गरे।