काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको अस्थायी रुपमा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। पुनर्निर्माण शुरु भएको ३ हप्तामा करिब ३०–३२ प्रतिशत काम पूरा भएको हो।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले अस्थायी रुपमा पुनर्निर्माण शुरु भएको २१/२२ दिनमा ३० देखि ३२ प्रतिशत काम सकिएको बताएका छन्।
गत बुधबारदेखि आयोजना स्थलमा नेपाली सेनाको टोली परिचालन भएको छ । विस्फोटक पदार्थसहित सेनाले ठूला ढुंगा फुटाउने काम गरिरहेको छ।आयोजनाको माथिल्लो सतहमा गेग्रान देखिए पनि खन्दै जाँदा ठूला ढुंगा भेटिएपछि सिनोले एक्लै पुनर्निर्माण गर्न सकेको थिएन ।
आयोजना स्थलमा देखिएका ढुंगा फुटाउनका लागि ६ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ खरिद गरेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। आगामी चैतसम्म काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने गरी काम भइरहेको बताइएको छ।
आयोजना स्थलमा सेनाले ग्रिल गरेर विस्फोटक पदार्थ प्रयोग गरी ३० भन्दा बढी ठूला ढुंगा फुटाइसकेको छ । हालसम्म गेट नम्बर १ मा ५ वटा ढुंगा फुटाएको छ ।
३ ठाउँबाट पुनर्निर्माण शुरु भएको आयोजनाको सुरुङको मुख भेटिएको छ । अहिले अम्बाथान, गेट नम्बर १ र ९ मा काम भइरहेको छ ।