काठमाडौं। नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते हुने भएको छ। बैठक भारतको प्रस्तावमा काठमाडौंमा हुने भएको हो।
प्रत्येक ६ महिनामा बस्नु पर्ने बैठक कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन। पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो ।
कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो ।
बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । मन्त्रालयका एक अधिकारीले बैठकमा पेश हुने प्रस्ताव अझै तयार नभएको बताए ।
बैठकमा नेपालले विद्युत् व्यापार, विद्युत् आदान–प्रदान तथा अन्तरदेशीय प्रसारणलाइनको विषयमा छलफल गर्न खाजेको छ। सोही विषयमा केन्द्रित रहेर नेपालले आफ्नो प्रस्ताव भारत पठाएको स्रोतको भनाइ छ ।