सर्लाही। बागमती नगरपालिकाले फनपार्क निर्माणको काम शुरू गरेको छ। चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण गर्न शुरु गरिएको हो।
दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैंचा पनि निर्माण गरिरहेको छ । वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा सडक पनि पूर्णरूपमा निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ ।
फनपार्क निर्माणपछि सयौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ । फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको बताइएको छ।