काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको शर्त पूरा भए मात्र एमसीसीमा समर्थन गर्ने बताएका छन्। एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार विहान बालकोट पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
छलफलमा गृहमन्त्री खाँणले एमसीसी संसदबाट अनुमोदन गर्न एमालेको सहयोग मागेका थिए। जवाफमा अध्यक्ष ओलीले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेका केही माग पूरा गर्नुपर्ने भनेका छन्।
प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।
सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।
एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन्।