काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्।
उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु पर्यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।” सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ छ।
उनले भनिन्, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन् ।
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताएकी छन्। एमसीसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ छ । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।
तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले नेकपा एमालेको मौनताले केही असहज बनाएको बताइन्।