काठमाडौं। पर्बत जिल्लाको महाशिला गाउँपालिका–६ एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा अलपत्र परेको छ। उक्त वायु उर्जा १५ वर्षदेखि अलपत्र बनेको हो।
महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको बताइएको छ। विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ।
दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्नका लागि स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हन्। टिटीबिजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजान निर्माण गरेको थियो।
तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ। समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो।
अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन्। उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो। वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलामखानी करिब ४०० घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ।