काठमाडौं । वर्षाका कारण साढे दुई महिनादेखि अवरुद्ध मैलुङ स्याफ्रुबेशी सडक मर्मत कार्य शुरु भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडक मर्मतको काम शुरु भएको हो ।
मैलुङ स्याफ्रुबेशी सडक सञ्चालनका लागि मर्मत कार्य शुरु गरिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
उनका अनुसार यतिबेला सडक सञ्चालनका लागि ब्लाष्ट्रिङ गरि मर्मतको काम भइरहेको छ। सडक सुचारु गराउन स्काभेटर, लोडर, टिपर लगायतका ६ वटा उपकरण प्रयोग भएको उनले बताए । अवरुद्ध सडक एक साता भित्रमा सञ्चालनमा आउने भण्डारीले जानकारी दिए ।
राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेशी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ ।