काठमाडौं। यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा हिजोदेखि व्यावसायिक उडान सुरु गरेको छ। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो। ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विसं २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो।
तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने बताइएको छ। उक्त एयरले काठमाडौँ इलामका लागि आठ हजार ७०० भाडादर कायम गरेको उडानको समय एक घण्टा लाग्ने छ।