बागलुङ। तमानखोला गाउँपालिकाले तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना निर्माण गरिने भएको छ। तमानखोला –३ तमान गाउँलाई पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्नका लागि जलाशययुक्त परियोजना अघि बढाइएको हो।
गाउँको फेदमा ड्याम निर्माण गरी तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्ण गरिने भएको छ। यसका लागि गाउँपालिकाले अध्ययन थालेको छ । गाउँपालिकाको गौरवको परियोजनाका रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ।
परियोजना सरकार, निजी क्षेत्र र गाउँपालिकाभरि नागरिकहरुको लगानीमा निर्माण हुने छ । परियोजना निर्माणमा पालिकाभरिका सबै नागरिकलाई साझेदार बनाइने छ । तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्ने र सोलेडाँडा हुँदै म्याग्दी जोड्ने सरकारको रणनीतिक सडक योजना अन्तर्गतको क्षेत्रमा भएको हुँदा बिस्तारै तमानखोला क्षेत्र पर्यटकीय हब बन्ने गरी जलविहार, माछापालन, विद्युतीकरण लगायतका काम गर्नका लागि तमानखोला थुनेर उक्त परियोजना बनाउने गाउँपालिकाले जनाएको छ।