गुल्मी। मुसिकोट नगरपालिका–५ आँपचौरमा ‘तल्लाफाँट सहिद पार्क’ निर्माण भइरहेको छ। कफीको व्यावसायिक उत्पादन वृद्धि गरी कृषि पर्यटनमार्फत आर्थिक समृद्धिको परिकल्पना अनुसार पार्क निर्माण गर्न लागिएको हो।
अहिले पार्कमा सहिद गेट, टावर, ट्रस्टलगायतका संरचना निर्माणको काम भइरहेको छ। पार्क निर्माणस्थल पहिलेको ढुंगेबगर हो। कफी क्षेत्र, रिडी–रुद्रवेणी राष्ट्रिय राजमार्गको नजिक पार्क निर्माण भएपछि स्थानीय खुसी छन्।
सहिद पार्कको निर्माण सक्न करिब १२ करोड रुपैयाँ स्टिमेट गरिएको छ। अहिलेसम्म ०७५–०७६ मा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले पूर्वाधार विकास कोषमार्फत ५० लाख र नगरपालिकाबाट पाँच लाख विनियोजन भएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज अर्यालले जानकारी दिए।
त्यस्तै ०७६–०७७ मा लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको ५०–५० लाख गरी एक करोड रुपैयाँको काम भएको थियो। सिँचाइ डिभिजन कार्यालय र नगरपालिकाको २०–२० लाख गरी ४० लाखमा ८० मिटर नदी क्षेत्र तटबन्ध तथा नगरपालिकाको १० लाखको लागतमा पदमार्ग निर्माण गरिएको अर्यालले बताए।
लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले पार्क निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन्। नेपालमै कफीको पहिचान बोकेको आँपचौरमा जनयुद्धको सम्झानासहितको पार्क निर्माण हुनु देशकै गौरवको विषय भएको भन्दै उनले सबै तहका सरकारको सहयोगमा पार्क निर्माण हुने बताए। लुम्बिनी प्रदेशबाट आफूले सक्दो बजेट विनियोजन गरिरहेकाले केन्द्रसँग पनि बजेट माग भइरहेको उनले बताए।