काठमाडौं। हार्पर एण्ड कम्पनीले नेपालमा बनाएका पुलहरुको अध्ययन गर्न तथा हालको अवस्थाको जानकारी र तस्विरहरु लिन त्यस बेलाका हार्पर एण्ड कम्पनीका मालिक एवं डिजाइनर लुइस हार्परका नाति डगलस हार्पर नेपाल आउँदा हार्पर एण्ड कम्पनीले बनाएको भनिएको सातवटा पुलको मात्र जानकारी बोकेर आएका थिए। तर मंगलटारको झोलुङ्गे पुलको अध्ययन गर्दै गर्दा त्यहीँका स्थानिय कालु तामाङले उस्तै पुल साँघुटारमा पनि रहेको जानकारी पाएँ।
रामेछापको साँघुटार बजार नजिकै रहेको लिखु खोलामा बनेको आधुनिक झोलुङ्गे पुल पनि हार्पर एण्ड कम्पनीले बिसं १९६० को दशकमा बनाएको झोलुङ्गे पुल मध्यको एक पुल रहेको पुलको निर्माण तथा बनावटको अध्ययनको क्रममा बल्ल थाहा पाएका थिए। यस पुलको नजिकैबाट हाल ओखलढुङ्गा सम्म सडक मार्ग जोडीएको छ। यो सडकले साँघुटार बजारको भविष्यलाई उजागर गरिदिए पनि जुन साँघुको नामबाट यो बजारको नाम रह्यो त्यो साँघु भने ओझेलमा परेको छ।
पूर्वी नेपालको लागि पैदल यात्रा गर्नुपर्ने समय साँघुटारको को महत्व बेग्लै नै थियो। पैदल यात्राको क्रममा ओखलढुङ्गा पुग्नु अगाडि बास बस्नुपर्ने हुँदा पनि साँघुसंगै बजार बन्न पुग्यो। यहि साँघुले गर्दा यो ठाउँको नाम नै साँघुटार बजार रहन गयो। साँघुटार निकै समय गाँउपालिका रहेको भए पनि पछिल्लो पटक २०७३ साल फागुनबाट भने रामेछाप नगरपालिका अन्तर्गत वडा नं ३ मा रहेको छ। यो पुल हाल बागमती प्रदेश तथा १ नं प्रदेशको सिमाको रुपमा पनि रहेको छ। यहि साँघु कटेपछि १ नं प्रदेश ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका रहेको छ। डगलस साँघुटारमा पुगे पछि स्थानिय निर्मलराज जोशीले यहाँ रहेको साँघुको पुरानो फोटो उपलब्ध गराएका थिए। तर यस पुलको बारेमा बिस्तृत जानकारी भने हार्पर एण्ड कम्पनीसंग रहेको छैन।