काठमाडौं। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विभिन्न राजनीतिक दलहरु प्रदर्शनमा उत्रिएका छन्। एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ३४ राजनीतिक दल प्रदर्शनमा उत्रिएका हुन्।
दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् ।
एमसीसीविरुद्ध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दल पनि छन्। प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनलाई घेर्ने तयारी गरेका छन्।
नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी विरोधमा उत्रिएका छन्। यसैगरी नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायतका राजनीतिक दल तथा अभियानहरू विरोधमा छन् ।