टीकापुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको टीकापुर विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री आलेले टीकापुर पुगेर विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थल चाँडै सञ्चालनमा आउने बताए। उनले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी समेत दिए। उनले भने, “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ।
अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ। चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ।” उनले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताए ।
मन्त्री आलेले भने, “पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ। विमानस्थल सञ्चालनमा आउन सके पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ ।”
मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए ।