काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने दायित्व गठबन्धनको भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भएको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
एमसीसी सम्झौतामा सहयोग गर्न प्रधानमन्त्री देउवाले नेपाललाई आग्रह समेत गरेका थिए। ‘मलाई प्रधानमन्त्री तपाईंहरुले नै बनाउनुभएको हो । गठबन्धन पनि हामीहरु मिलेरै बनाएको हो । एमसीसीलाई पनि गठबन्धनले नै निष्कर्षमा पुर्याउनुपर्ने दायित्व छ । सरकारले अघि बढाएको प्रस्ताव फेल भयो भने राम्रो सन्देश जाँदैन । तपाईंहरुले मिल्नेगरी सहयोग गर्नुपर्यो,’ देउवाको भनाई उद्धृत बालुवाटार स्रोतले भन्यो ।
जवाफमा नेता नेपालले परिवर्तन जोगाउन बनेको गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने र एमसीसीलाई निष्कर्षमा पुर्याउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । यसबारेमा पार्टीभित्र थप छलफल गरेर निर्णय लिने अध्यक्ष नेपालको भनाइ छ ।
प्रधानमन्त्रीसँग भेटेपछि नेता नेपाल अहिले पार्टीभित्र आन्तरिक परामर्शमा जुटेका छन् ।