काठमाडौं। महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन सुरु गरिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन सुरु गरिएको हो।
पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ। पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने बताइएको छ।। फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो। बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन्। दाताको करिब रु ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो।
यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ। दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन्। पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ।