काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नलिए देशको अर्थतन्त्र टाँट पल्टिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै नेता पाण्डेले एमसीसी अस्वीकार गर्न नहुने बताएका हुन्।
नेता पाण्डेले एमसीसी नलिँदा १५ देशबाट आउने रेमिट्यान्समा असर गर्ने र नेपालको अर्थतन्त्र झन् गम्भिरतातर्फ उन्मुख हुने बताएका छन।
उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता संस्थाले सहयोग गर्ने हुँदा वैदेशिक मुद्राको सञ्चितीमा समस्या नहुने तर अन्तर्राष्ट्रियस्तरमा जाने सन्देशले समग्र रेमिट्यान्समै असर गर्ने बताएका छन् । सबै भन्दा बढी रेमिट्यान्स कतार, मेलेसिया, युएई, अमेरिकाजस्ता देशबाट आउने हुँदा एमसीसी नलिँदा रेमिट्यान्समा असर गर्ने र नेपालको अर्थतन्त्र झन् गम्भिरतातर्फ उन्मुख हुने पाण्डेको भनाइ छ ।
एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने नेता पाण्डेको भनाइ छ।