नेपालगञ्ज। भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन्। कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेका हुन्।
पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन्।
कोरोना महामारी घट्दै जाँदा अहिले बाँकेका विभिन्न पर्यटकीय गन्तव्यमा भारतीय पर्यटक सबैभन्दा बढी आउन थालेको बाँकेका पर्यटन व्यवसायीले बताएका छन्। भारतबाट आउने अधिकांश पर्यटक व्यावसायिक रूपमा सञ्चालन भएका वाटरपार्कमा रमाउनुका साथै धार्मिक गन्तव्यमा जाने र क्यासिनोमा समेत रमाउने गरेको बताइएको छ।
पछिल्लो समयमा स्वदेशी र भारतीय पर्यटकको आगमन बाँकेमा वृद्धि हुँदै जाँदा यहाँका होटल, होमस्टे र व्यापारिक मलहरू फेरि भरिभराउ हुन थालेको पर्यटन प्रर्वद्धन मञ्च बाँकेले जनाएको छ।