भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिँदै छ । विमानस्थलमा राखिने बुद्धमूर्ति यतिबेला म्यान्मारबाट हङकङ हुँदै कोलकाता आइपुगेको छ।
१ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको बताइएको छ ।
लुम्बिनी गार्डेन फाउन्डेसनका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी बुद्धमूर्ति अनावरणका लागि निमन्त्रणा दिएका छन् । बुद्धमूर्तिको कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम छ।