काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित चम्पूजा उद्यान नगरको आकर्षण केन्द्र बनेको छ। पछिल्लो समय पार्कमा मनोरञ्जन लिनेको सङ्ख्या बढ्न थालेको हो।
मन्दिर दर्शनका लागि दोलखा पुग्नेहरू पार्कमा गएर त्यसलाई नजिकबाट नियाल्दै, गौरीशङ्कर हिमालको चमक देखेर मुस्कुराउँछन्। हाल शान्त र सुन्दर उद्यानमा रमाउन चाहनेको रोजाइमा सो पार्क परिरहेको छ।
भीमेश्वर मन्दिरबाट केही तल उद्यान छ। सो मन्दिरदेखि पार्कसम्म ओरालो भएकाले खुट्किलासहितको पक्की पैदल बाटो निर्माण गरिएको छ। पार्कमा फूलबारी, धुपीको रुखले मन फुरुङ्ग पार्छ। बालबालिकाका लागि खेल्न पिङ हालिएको छ। पार्कको बीच भागमा सानो पोखरीको बीच शिवजीको मूर्ति राखिएको छ।
भीमेश्वर मन्दिर नजिकै रहेकाले मन्दिरका दर्शनार्थी पार्कमा जान थालेपछि चहलपहल बढेको छ। पार्कमा सुविधा सम्पन्न पिकनिक स्थल, शौचालय, खानेपानी आदिको सुविधा उपलब्ध छ।