फाइल तस्बिर
इलाम । इलाम नगरपालिकामा पर्ने नारायणस्थान खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । मेची राजमार्ग अन्तर्गतको साविकको मेचीका चार वटा जिल्ला जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको हो ।
तत्काल मर्मत सम्भव नभएकाले राजमार्ग खुल्ने टुंगो छैन। राजमार्ग अवरुद्ध हुनेगरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भीर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको छ ।
सडकको आधाभन्दा धेरै भाग पहिरो गएर झरेकाले मर्मत गर्न समस्या देखिएको छ । राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ । राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौ घर जोखिममा छन् ।
स्थानीयवासीका घर, विद्यालय, धार्मिक क्षेत्र र कार्यालयहरुसमेत रहेकाले तत्काल सडकको दिगो गरी मर्मत सम्हार नगरे ठूलो क्षति व्यहोर्नु पर्ने स्थानीयबासीको भनाइ छ । सडक भत्किएपछि राजमार्गमा गुड्ने सवारी साधन इलाम बजारबाट गुडिरहेका छन ।